७ मंसिर २०८१, शुक्रबार

विप्लव समूहलाई मतदानमा सहभागी गराउन सरकारले छलफल जारी राखेको छ : गृहमन्त्री खाण


बालकृष्ण खाण फाइल फोटो

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन उक्त समूह र सरकारबीच निरन्तर छलफल जारी राखेको खुलासा गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले आज भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा रुपन्देही–३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य खाणले विप्लव समूह र सरकारबीच छलफल जारी रहेको बताएका हुन् ।

राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको जानकारी दिँदै उनले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग दुई दिनअघि भैरहवामा भएको वार्तामा कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिनेलगायतका विषयमा छलफल भएको बताए ।

गृहमन्त्री खाणले नेकपाका नेता कार्यकर्तासमेत निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने प्रस्ताव गरेको उल्लेख गरे ।

निर्वाचनमा पाँच दलीय गठबन्धन अगाडि रहेको बताएका छन् । गठबन्धनबाट पाएको सूचनाअनुसार हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन एक सय ३० ठाउँमा अग्रस्थानमा रहेको उनको दाबी छ । गठबन्धनको अग्रता निर्वाचन हुने दिनसम्म अझै बढ्ने र अत्याधिक बहुमत प्राप्त हुने विश्वास व्यक्त गरे ।

माधव नेपाल प्रधानमन्त्री र आफू सिँचाइमन्त्री भएको बेला रुपन्देहीमा विकासका आयोजना अगाडि बढेको उल्लेख गर्दै उनले सहमति र सहकार्यका साथ गठबन्धनलाई अगाडि बढाएर मुलुुकलाई आगामी पाँच वर्षभित्र आर्थिकरुपमा पनि विकसित बनाइने उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !