१४ बैशाख २०८१, शुक्रबार

चुनावपछि प्रधानमन्त्रीको विषयमा देउवा र प्रचण्डको लफडा पर्नेवाला छ : ओली


केपी शर्मा ओली पोखरामा

कास्की । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा को प्रधानमन्त्रीको उम्मेदवार बन्ने भन्ने बारेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लफडा पर्न सक्ने भविष्यवाणी गरेका छन् ।

आज सोमबार पोखरा सभागृहमा एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनभित्रै देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको विषयलाई लिएर संघर्ष हुने बताएका हुन् ।

ओलीले शेरबहादुरले आफू प्रधानमन्त्री हुन्छु भन्दा प्रचण्ड ‘रुनु न हाँस्नु’ भएको पनि भनेर व्यंग गरे । उनले अहिलेको गठबन्धनलाई कलह, अस्थिरता र झमेलाको संज्ञा समेत दिए । गठबन्धनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न समेत चुनौती समेत दिए ।

काँग्रेसमा देउवाले आफूलाई अप्रत्यक्ष रुपमा प्रधानमन्त्रीको प्रवल दावेदारको रुपमा प्रस्तुत गरेपनि गठबन्धन टुट्ने दरले मुख खोलेका छैनन् । यद्यपि महामन्त्री गगन थापाको साथै विपी पुत्र डा. शशांक कोइरालाले पनि आफू प्रधानमन्त्रीको उम्मेदवार हुने घोषणा नै गरिसकेका छन् । यता गत काँग्रेसको महाधिवेशनमा सभापतिका उम्मेदवार भएका डा. शेखर कोइरालाले आफू नबोलेपनि कार्यकर्तामार्फत आफूलाई बिस्तारै प्रधानमन्त्रीको उम्मेदवारको दावेदार हुनसक्ने संकेत गरेका छन् ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा नगरेपनि आफू पछि नहट्ने बताउदै आएका छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफू पनि प्रधानमन्त्रीको उम्मेदवार हो भन्ने कुरा एक सार्वजनिक कार्यक्रममा संकेत गरेका छन् । गठबन्धनमा अहिलेसम्म को प्रधानमन्त्रीको उम्मेदवार हो ? भन्ने प्रष्ट रुपमा खुलाइसकेको छैन । यसअघि पनि एमालेका अन्य नेताहरुले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारको विषयलाई लिएर गठबन्धन भत्किने समेत भविष्यवाणी गरेका छन् ।

अध्यक्ष ओलीले मुलुकमा स्थायित्व, शान्ति र विकासका लागि एमालेको जित आवश्यक रहेकोले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी पनि गरेका छन् । ओलीले गठबन्धनको झुठा प्रपञ्च भत्काउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमालेले बहुमत ल्याउने बताए । एमालेले यसअघि नै ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरेर निर्वाचनमा होमिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !