८ मंसिर २०८१, शनिबार

आयोगको स्पष्टीकरणपछि गण्डकी सरकारद्वारा करको दर घटाउने निर्णय खारेज


गण्डकी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

पोखरा । गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगको दोस्रो पटक स्पष्टीकरण सोधेपछि गण्डकी सरकारले करको दर घटाउने निर्णय खारेज गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेको थियो । करको दरमा हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न गण्डकी प्रदेशका मुख्यमन्त्री, अर्थ मन्त्री, प्रमुख सचिव र अर्थ मन्त्रालयका सचिवलाई समेत छुट्टाछुट्टै स्पष्टीकरण सोधिएको थियो ।

गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो । त्यस्तै गत बुधबार पनि दोस्रोपटक २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

तर गण्डकी प्रदेश सरकारले पत्र भने हिजो आइतबार बिहान ११ बजेमात्र प्राप्त गरेको बताएको थियो । पत्र आएपछि आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय खारेज गरेर आयोगलाई सरकारले आजै जानकारी गराउने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !