७ बैशाख २०८१, शुक्रबार

ओली दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा र केपी शर्मा ओली

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुने बताएका छन् ।

आज शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा राखे । यद्यपि उनले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ भन्दै प्रश्न गरे, “केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?” प्रधानमन्त्री देउवाले भने, “कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।”

यसअघि हिजो शुक्रबार मात्रै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको दार्चुलामा उद्घाटन गर्दै भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए ।

अध्यक्ष ओलीले नेपालको अतिक्रमित भूमि फिर्ता लिने बताउदै एक इन्च जमिन अरुलाई नछाड्ने धारणा राखेका थिए । उनले राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन नछाड्ने भन्दै एमालेको तत्कालिन सरकार भएको बेला संसद्बाट नक्सा जारी गरिसकेकोले अव अतिक्रमित भूमि फिर्ता लिने बताएका थिए ।

ओलीले आफू मेची किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेको तर शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुँदा पनि नदेखेको भन्दै आफू मेची बगरको मान्छे महाकालीको पुल देखेको तर शेरबहादुर देउवाले नदेखेको भनेपछि देउवाले ओलीलाई जवाफ फर्काएका हुन् । यसरी अतिक्रमित भूमि फिर्ता लिने सम्वन्धमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीच जुहारी चलेको हो ।

प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो । उनले भने, “अति नै भएपछि हामी अदालत गएका हौँ ।”

“समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ”, उनले भने, “धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।” प्रधानमन्त्री देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने बताए । “गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यही हुन्छ”, देउवाले भने, “विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ ।” डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उनले बाँकी काम पनि आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । प्रधानमन्त्री देउवाले भने, “खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथी मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ ।” सम्बोधनका क्रममा उनले शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार निर्माणमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !