काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दै छ । एमालेले आज मंगलबार दिउँसो साढे १ बजे होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गरेर पार्टीको घोषणापत्र सार्वजनिक गर्ने भएको हो ।
पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको हो ।
उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ । उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्नेे कार्यक्रम राखिएको छ ।
एमालले ‘समृद्ध नेपाल : सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ । एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । उक्त समितिले सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालले जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका राजनीतिक दलले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।