५ जेष्ठ २०८१, शनिबार

ओलीको देउवालाई चुनौती : ‘लाइभ डिबेड’मा आउनुहोस्


शेरबहादुर देउवा र केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेड’मा आउन चुनौति दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक पेजमा केही समयअघि लेख्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई यस्तो चुनौती दिएका हुन् । उनले सामाजिक सञ्जालमा रहेका धेरै नेपालीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गरेको उल्लेख गरेका छन् ।

उनले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्ने धेरैजसो नेपालीले आफू र काँग्रेस सभापति देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिएको बताएका छन् । उनले आफू त यसका लागि तयार रहेको तर देउवाजी नि ? के हो भनेर प्रश्न समेत गरेका छन् ।

उनले निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको पनि बताएका छन् । अमेरिकी राष्ट्रपतिमा चुनिन पहिला आफ्नै पार्टीका उम्मेदवारबीच र पछि दुई विपक्षी पार्टीका प्रत्यासीबीच डिबेट हुने गर्छ ।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !