१२ श्रावण २०८१, शनिबार

रुपन्देही-२ का राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश


राजु गुरुङ

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्वर २ मा नेकपा (एमाले) का विष्णु पौडेलविरुद्ध गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले नेकपा (एकीकृत समाजवादी) का गठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

आज सुनुवाईपछि श्रेष्ठको इजलासले रूपन्देही २ का निर्वाचन अधिकृतको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्नु भनी आदेश जारी गरेको छ ।

गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उम्मेदवारी खारेज गरिदिएको थियो । यस्तै गुरुङको उम्मेदवारी, फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएको थियो ।

गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले गुरुङको उम्मेदवारी कायम नै राख्न आदेश दिँदै अन्तरिम आदेशबारे छलफल गर्न कात्तिक २ गतेको पेसी तोकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !