७ मंसिर २०८१, शुक्रबार

विजय गच्छादरसहित ९ जना उम्मेदवारविरुद्ध परेको रिट खारेज


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले नेपाली काँग्रेसका नेता विजय कुमार गच्छादर र नेकपा एमालेबाट निष्काशित स्वतन्त्र उम्मेदवार प्रभु साहसहित ९ जना उम्मेदवारविरुद्ध परेको रिट खारेज गरेको छ ।

अधिवक्ता अनिल आचार्यले दायर रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले खारेज गरेको हो । बिहीबार अधिवक्ता आचार्यले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारसहित विभिन्न अभियोग लागेका व्यक्तिहरूको उम्मेदवारी खारेजीको माग गरेर रिट दायर गरेका थिए ।

रिट निवेदनमा सुनसरी क्षेत्र नम्वर ३ मा कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छदार, मनाङबाट कांग्रेस उम्मेदवार रहेका टेकबहादुर गुरुङ, तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र रौतहट क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह लगायतको उम्मेदवारी खारेज गर्न माग गर्दै रिट दायर गरिएको थियो ।

यस्तै चितवन क्षेत्र नं २ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे, सिरहा क्षेत्र नं १ की स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नं १ (क) का एमाले उम्मेदवार डिबी तामाङ, महोत्तरी १ का एमाले उम्मेदवार लक्ष्मी महतो र झापा ५ (ख) का माओवादी उम्मेदवार रेवतराज पुरीको उम्मेदवारी पनि खारेज गर्न माग गर्दै पनि रिट दायर गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !