१ मंसिर २०८१, शनिबार

मधेशका मुख्यमन्त्रीद्वारा काँग्रेसका मन्त्रीलाई राजीनामा दिन आग्रह, नभए बर्खास्त गर्ने


लालबाबु राउत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा रहेका नेपाली काँग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका छन् नभए उनीहरुलाई बर्खास्त गर्ने चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा रहेका ४ जना मन्त्रीलाई बर्खास्त गरेपछि जसपाबाट मुख्यमन्त्री बनेका राउतले पनि काउन्टर बदलाको तयारी गरेका हुन् । जसपाका मन्त्रीहरूलाई हटाएसँगै यसको साइड इफेक्ट मधेस प्रदेशमा देखिने भएको हो ।

प्रधानमन्त्री देउवाले जसपाबाट सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई हिजो हटाएका थिए ।

यद्यपि मुख्यमन्त्री राउतले मधेस प्रदेशमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरूलाई भने तत्काल नहटाउने बताएका छन् । हाल मधेस प्रदेश सरकारमा माओवादीका दुई मन्त्री र एक राज्य मन्त्री, एकीकृत समाजवादीका एक मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसका तीन जना मन्त्रीहरू छन् ।

एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादव र राज्य मन्त्री नागेन्द्र राय यादव छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण रहेका छन् ।

देउवा सरकारमा रहेका जसपाका मन्त्रीहरूलाई हटाएसँगै जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले पनि नेपाली कांग्रेसका मन्त्रीहरूलाई हटाउने जवाफी फायरको तयारी गरेको हो । कांग्रेसबाट मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् ।

यो पनि पढ्नुहोस्

जवाफी फायरको तयारीमा जसपा : मधेश सरकारबाट कांग्रेस र माओवादीका मन्त्री हटाइँदै

प्रधानमन्त्री देउवाद्वारा जसपाका चार मन्त्रीहरु बर्खास्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !