काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को मञ्च दुरुपयोग गरेर गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रपति विद्यादेवी भण्डारीबारे अमार्यादित टिप्पणी गरेको भन्दै राजीनामा मागेका छन् ।
एनआरएनएको वार्षिक साधारण सभा समापन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले गृहमन्त्री खाँडले नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीमाथि गरेको अमर्यादित टिप्पणीप्रति प्रधानमन्त्री समेत गम्भीर नभएकोमा आपत्ति समेत प्रकट गरे ।
एमाले अध्यक्ष ओलीले सरकारका गृहमन्त्रीले राष्ट्रपति भण्डारीको बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै उनले बोल्दै नबोल्ने संस्थाको बारेमा बोलेर अलोकतान्त्रिक व्यवहार देखाएको बताए ।
उनले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिन विलम्ब गर्न नहुने बताए । “गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब हुन नहुने थियो”, उनले भने, “यो विषयलाई निर्वाचनपछि समाधान गर्छौं, गैरआवासीय नेपालीलाई तुरुन्त नागरिकता उपलब्ध गराइनेछ ।”
गैरआवासीय नेपाली दिवस एवं गैरआवसीय नेपाली सङ्घको वार्षिक साधारणसभाको आज काठमाडौँमा समापन गर्दै उनले आफूले सरकारको नेतृत्व गरेको समयमा गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन नागरिकता विधेयक अगाडि बढाउन खोजे पनि सत्ता साझेदारका कारण निणायार्थ प्रस्तुत गर्न नसकेको जिकिर गरे । “गैरआवासीय नेपालीका माग स्वभाविक छन्, मैले त्यसलाई समर्थन गर्र्दै आइरहेको छु”, उनले भने ।
गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि लगानी गर्न आह्वान गर्दै उनले लगानीको व्यवधान हटाइने प्रतिबद्धता व्यक्त गरे । “गैरआवासीय नेपालीलाई नेपालमा लगानीका लागि सहज ढङ्गको वातावरण बनाइनेछ, लगानीको प्रक्रियालाई सरलीकृत गरिनेछ”, पूर्वप्रधानमन्त्री ओलीले भने ।
प्रवासी नेपालीलाई जहाँ भए पनि मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले प्रयास गरिरहेको उल्लेख गर्दै उनले नेपाली जहाँ भए पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताए । उनले भूकम्प, नाकाबन्दी तथा कोरोना महामारीमा गैरआवासीय नेपालीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
एमालेको नेता डा सूर्य पाठकले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान, प्रवासी नेपालीलाई मताधिकारको प्रयोग, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउने तथा पुस्तौँदेखि बर्मा, मलेसिया, थाइल्याण्डलगायत मुलुकमा रहेका नेपालीलाई पनि गैरआवासीय नेपालीले पाउने अधिकार दिलाउन सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले मुलुकको विकासका लागि गैरआवासीय नेपाली एकजुट हुनुपर्ने उल्लेख गर्दै गैरआवासीय नेपालीले उठाएको मुद्दामा आफ्नो पार्टीको समर्थन रहेको बताए ।
सङ्घका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मातृभूमिलाई समृद्ध बनाउने गैरआवासीय नेपालीले आआफ्नो क्षमता प्रदर्शन गर्दै आइरहेको बताए । उनले सरकार र सबै राजनीतिक दलले विदेशमा रहेका नेपालीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्ने बताए ।
सङ्घका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीले विदेशमा नेपालको प्रतिनिधित्व गरिरहेको जनाउँदै अध्यादेश ल्याएर भए पनि गैरआवासीय नेपालीलाई तत्काल नागरिकता दिइनुपर्ने बताए । सङ्घका अर्का अध्यक्ष कूल आचार्यले नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीले सच्चा साझेदारीको पहल गरिरहेको बताए ।
दुई दिनसम्म चलेको सो साधारणसभा आज १० बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।