६ जेष्ठ २०८१, आइतबार

आज उम्मेदवारहरुको नामावली प्रकाशन गरिँदै, भोलि अन्तिम नामावली


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशन गर्दै छ । निर्वाचनको कार्यतालिका अनुसार आज आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगका अनुसार आज साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकिएको छ । भोलि बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको छ ।

भोलि दिउँसो १ देखि ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ । आयोगका अनुसार सोही दिन अपराह्न ४ देखि बेलुका ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

आयोगले यसअघि हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिको विरोधमा उजुरी दिन सकिने समय छुट्याएको थियो । कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि हिजो सो समय निर्धारण गरिएको थियो ।

हिजो उजुरी परेका उमेदवारहरुको उजुरीउपर छानविन तथा उमेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि भोलि बुधबार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

यस्तै हिजो र आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि समय तोकिएको छ । आयोगमा परेको उजुरीमाथि हिजो सोमबार ३ बजेदेखि आज मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार आयोगमा कूल ५ हजार ९६८ उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्रका लागि २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएको छ भने प्रदेशसभातर्फ ३ हजार ४७६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

कार्यतालिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !