१२ असार २०८१, बुधबार

उम्मेदवारी दर्ता गरेपछि प्रचण्डले भने- घुम्दै चुनाव लड्नेमा नेपालको इतिहासमै पहिलो भएको छु


प्रचण्ड

गोरखा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुम्दै चुनाव लड्नेमा आफू नेपालको इतिहासमै पहिलो भएको दावी गरेका छन् ।

गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले पूर्व-पश्चिम मधेस-पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा आफू नै पहिलो भएको छु कि जस्तो लागेको भन्दै अहिले गोरखा आएपछि नयाँ रेकर्ड बनेको दावी पनि गरेका हुन् ।

उनले परिचित ठाउँ र परिचित जनताको बीचमा आउँदा खुसी लागेको भन्दै ऐतिहसिक जिल्ला गोरखाबाट चुनाब लड्न पाउँदा आफूले गौरब महसुस गरेको बताएका हुन् । उनले गठबन्धनबाट सुमधुर सम्बन्धका साथ निर्वाचनमा गएको बताउदै जनयुद्ध हुँदै गणतन्त्रको आन्दोलनअघि बढाएर युगान्तकारी परिवर्तन आएकोले अब आर्थिक विकास र समृद्धिको क्रान्ति पनि एकताबद्ध भएर गर्ने बताए ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी गोरखा–२ मा उम्मेदवारी दर्ता गराएपश्चात पत्रकारसँग कुराकानी गर्दै उनले यसपटकको निर्वाचनमा गोरखा आएपछि थप नयाँ रेकर्ड कायम भएको बताए ।

युवावस्थामा आफूले अध्ययन गरेको जिल्ला समेत रहेको बताउदै उनले पार्टी हेडक्वार्टर गोरखामा राखेर जनयुद्धको सम्पूर्ण तयारी गरेको समेत स्मरण गराए । उनले गोरखा आफ्ना लागि ऐतिहासिक जिल्ला भएको र यहाँ आउदा कता आएँ भन्ने नलागेको बताए ।

गठबन्धनबाट निर्वाचनमा गएको बताउँदै उनले गोरखाबाट आर्थिक समृद्धिका लागी नयाँ रोडम्याप बनाउन सुरु गर्ने बताए । पार्टी उपाध्यक्ष श्रेष्ठलाई समर्थक र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइलाई प्रस्तावक राखेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !