७ बैशाख २०८१, शुक्रबार

भोलिदेखि निर्वाचन अचारसंहिता लागू गर्ने आयोगको निर्णय


प्रतिनिधिसभा निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले भोलिदेखि निर्वाचन अचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको हो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि आयोगले भोलिदेखि निर्वाचन अचारसंहिता लागू गर्ने भएको हो । आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताए । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।

आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।

आयोगले दलहरुलाई असोज २३ गते उम्मेदवारको मनोनयन गर्ने कार्यसूची दिएको छ । दलहरुले असोज २ र ३ गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । आयोगले बन्दसूचीमा पेश गरिएको नाम सच्याउन असोज १६ गतेसम्मको समय दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !