७ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीद्वारा ‘स्पेस फोरके टेलिभिजन’ को शुभारम्भ


केपी शर्मा ओली

काठमाडौँ । अत्याधुनिक प्रविधिका साथ ‘स्पेस फोरके टेलिभिजन’ ले हिजोदेखि आफ्नो सेवा शुभारम्भ गरेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सो टेलिभिजनको सोमबार शुभारम्भ गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा ‘समृद्ध नेपालः सुखी नेपाली’ नाराका साथ आफ्नो पार्टी जनतासामु जाने बताए । उनले भने, “हामीले विकासको सुनिश्चित गर्छौँ, जनताको सुरक्षाको प्रत्याभूत गर्छौँ, हामी विकासमा प्रतिबद्ध छौँ ।”

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आमसञ्चारमाध्यमले सत्यतथ्यमा आधारित भएर जनताको दैनिक गतिविधिसँग जोडिएका विषयलाई प्राथमिकताका साथ उजागर गर्दै समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने गरी अगाडि बढ्न सुझाव दिए ।

टेलिभिजनका सम्पादक सरोज कोइरालाले टेलिभिजनले सत्यतथ्यमा आधारित भएर बढीभन्दा बढी नागरिकको वास्तविक आवाजलाई सम्प्रेषण गर्ने बताए । राज्यमा समावेशिता, सहभागिता र सहअस्तित्वलाई बढावा दिँदै संसारभरका ताजा सूचना, सन्देश र विचार निरन्तर दर्शकसामु प्रस्तुत गर्ने उनको भनाइ छ ।

देश र नागरिकको हितलाई केन्द्रमा राखेर राज्यका सबै अङ्गलाई जिम्मेवार, जवाफदेही बनाउने र नागरिकलाई आफ्नो कर्तव्य निर्वाह गर्न सघाउने टेलिभिजनको उद्देश्य रहेको अध्यक्ष डा दिनेशकुमार शाहीले जानकारी दिए ।

नेपालको टेलिभिजन पत्रकारितामा उक्त नयाँ टेलिभिजन प्रशारणले नयाँ आयाम थप्ने लक्ष्य लिएको जनाइएको छ । भौगोलिक, सांस्कृतिक, धार्मिक जातीय, लिङ्गीय विविधता तथा सबै नागरिकका विचारलाई समानरूपमा स्थान दिने कार्यक्रममा जानकारी दिइयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !