८ मंसिर २०८१, शनिबार

सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको अनौपचारिक बैठक जारी


सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको अनौपचारिक बैठक जारी रहेको हो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन आज बैठक जारी रहेको हो । हिजो शुक्रबार दिनभरजसो छलफल भए पनि सहमति जुटेको थिएन ।

हिजोको बैठकमा गठबन्धनका सबै दलले आफ्नो अडान नछोडेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक निरन्तर बस्ने सहमति गरेर नेताहरू उठेका थिए । यद्यपि सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल काठमाडौँ उपत्यका बाहिर रहेको बताइएको छ ।

गठबन्धनका पाँच दलबीच १०० सीटको एकल दाबी सहमति जुटेपनि बाँकी ६५ सीटमा भने दुई वा दुईभन्दा बढी दलले दाबी गरेपछि सहमति जुटाउन हिजो दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सीट रहेकोमा गठबन्धनमा कांग्रेसले १०० सिट, नेकपा (माओवादी केन्द्र) ले ६० सिट, नेकपा (एकीकृत समाजवादी) ले ४० सिट, जनता समाजवादी पार्टी (जसपा) ले ३२ सिट र राष्ट्रिय जनमोर्चाले दुई सीटमा दाबी गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !