७ मंसिर २०८१, शुक्रबार

एमाले सचिवालय बैठक आज पनि बस्दै, समानुपातिक उम्मेदवार टुंग्याउने तयारी


एमाले सचिवालय बैठक बालकोट

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज पनि बस्दै छ । हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आज बस्ने बैठकले निर्णय गर्ने तय गरेको छ ।

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न आज पनि नेकपा (एमाले) को सचिवालय बैठक बस्न लागेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराएको बताए ।

बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको उनले बताए ।

बाढीपहिराका कारण अछाम जिल्लामा भएको जनधनका क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ । साथै घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको उहाँले जानकारी दिए ।

बैठकले पाकिस्तानमा आएको बाढीले पुर्याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ । बैठक आज बिहान ११ बजे पुनः बस्ने गुरुङले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !