२१ पुस २०८१, आइतबार

संसदको चालू अधिवेशन अन्त्य, प्रतिनिधिसभाको कार्यकाल पनि आजैबाट सकियो


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौं । संघीय संसदको चालू अधिवेशन आजबाट अन्त्य भएको छ । प्रतिनिधि सभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले आजै राती १२ बजेबाट लागू हुने गरी संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

सभामुख सापकोटाले चालू अधिवेशनमा सभाले गरेका काम, कारबाही र प्रगतिका बारेमा सभालाई जानकारी समेत गराएका थिए । अधिवेशन अन्त्यसँगै संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको कार्यकाल पनि आजैबाट सकिएको छ । आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको लागि भोलि देखि समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची पेश हुने भएकाले प्रतिनिधि सभा आजबाट अन्त्य हुन पुगेको हो ।

आजको बैठकमा नेपाल सरकारका मन्त्रीहरुले आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न र त्यसका उत्तरहरुलाई टेबुल समेत गरेका थिए । सांसदहरु संसदको विभिन्न बैठकमा उठाएका प्रश्नहरुको सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुले जवाफ दिन नपाएका उत्तरहरुलाई आज टेबुल गरिएको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, उर्जामन्त्री पम्फा भुसाल, खानेपानीमन्त्री उमाकान्त चौधरी, परराष्टमन्त्री डा.नारायण खड्काको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा कृषि तथा पशुपन्छि विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न र त्यसका उत्तरहरुलाई टेबुल गरेका थिए ।

सदन तथा सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाको आजको बैठकको शुरुमै समय मागेर बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद डा.भिमबहादुर रावलले अविरल बर्षाका कारण अछाम जिल्लाको विभिन्न स्थानमा आएको पहिरोमा परी १६ जनाको मृत्यु भएको र थुप्रै घरहरु अहिले पनि पहिरोले पुरिरहेको अवस्था रहेको भन्दै उनीहरुको राहत र उद्धाराका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद रावलले उद्धारका लागि सुरक्षाकर्मी जाने बाटो समेत पहिरोका कारण अबरुद्ध भइरहेकाले तत्काल नेपाली सेनाको हेलिकोप्टर मार्फत सो क्षेत्रमा चिकित्सक टोली, भाडाकुँडा, औषधि र लत्ताकपडा पठाउन माग गर्दै तत्काल उद्धार हुन नसकेको खण्डमा घाईतेहरुलाई बचाउन कठिन हुनेतर्फ गृहमन्त्री ध्यानाकर्षण गराए ।

समय मागेर बोल्दै नेकपा(एमाले)का सांसद यज्ञबहादुर बोगटीले पनि ३ दिन देखि अछाम जिल्लामा परेको अविरल बर्षाका कारण जिल्लाकाको तुर्माखाँद गाउँपालिका-५मा पहिरो आई दुईवटा घर पुरिएको, पहिरोका कारण ९ जनाको मृत्यु भएको तथा सोही जिल्लाको कमलबजार नगरपालिका-६ र ८ मा पनि पहिरो जाँदा दुईवटा घर अहिले पहिरोले पुरिईरहेको अवस्थामा रहेको भन्दै उनीहरुको राहत र उद्धारका लागि सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए । उनले घाईतेहरुलाई तत्काल हेलिकोप्टर मार्फत नेपालगंज वा काठमाडौंको सुविधासम्पन्न अस्पतालमा उपचारको व्यवस्था गर्न तथा ती क्षेत्रको अबरुद्ध सडक, विद्युत र संचार तत्काल सुचारु गर्न सरकारसँग माग गरेका थिए ।

समापन मन्तव्य

प्रतिनिधि सभाको आजको बैठकमा अधिवेशन अन्त्यको अवसरमा दलीय आधारमा दलका शिर्ष नेताहरुले आ-आफ्नो मन्तव्य समेत राखेका थिए

अधिवेशन समापन मन्तव्यको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बनेको गठबन्धन सरकारले चालू अधिवेशनमा राम्रो उपलब्धी हासिल गरेको आफूले महशुस गरेको बताएका थिए ।

प्रमुख प्रतिपक्षी दलका नेताले वर्तमान सरकारलाई परमादेशबाट आएको सरकार भने पनि परमादेशबाट भए पनि सबैलाई भेट गर्ने मौका दिएर न्यायालयले न्यायगरेको आफूले महशुस गरेको बताए ।

यो अधिवेशनमा नागरिकता लगायतका थुप्रै विधेयकहरु पास गरिएको बताउँदै प्रधानमन्त्री देउवाले वर्तमान सरकारको पालमा परराष्ट्र सम्बन्धमा समेत सुधार आएको दावी गरे ।

प्रधानमन्त्री देउवाले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष र शान्तिपूणर् रुपमा सम्पन्न सरकारले निर्वाचन आयोगलाई पूणर् सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढि र पहिरोमा परेका पीडितहरुलाई सरकारले उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरेको बताए ।

मन्तव्यको क्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अछाम जिल्ला लगायत मुलुकका विभिन्न ठाउँमा भएको बाढि, पहिरो र डुवानको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरुको राहत, उद्धार र पुनर्निमाणको लागि तदारुकताका साथ लाग्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्री बनाउने र हटाउने काम प्रतिनिधि सभाबाट मात्रै हुन सक्ने भए तापनि वर्तमान सरकार निर्माणका लागि के कस्ता सेटिङहरु भए भन्ने कुरा अहिले छताछुल्ला भएको बताए ।

निर्वाचनमा जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने भन्दै पूर्व प्रधानमन्त्री ओलीले समयमै निर्वाचन नभए तथा परमादेशबाट नक्कली सरकार बन्नु चाहिँ प्रतिगमन भएको बताए । उनले संसदीय प्रणाली र राष्ट्रिय आवश्यकता एकातिर र अंकगणित अर्कोतिर भई जनतामा गरिएका प्रतिबद्धता र जनादेशलाई निष्क्रिय पारिए पछि विगतमा ताजा जनादेशमा जान जरुरी रहेको बताए ।

उनले प्रतिनिधि सभाको कार्यकालमा संविधान कार्यान्वयका थुपै्र कामहरु भएको उल्लेख गर्दै संसद नभएको बेलामा नागरिकता बिहीनलाई नागरिकता दिन बिगतको सरकारले अध्यादेश ल्याउँदा मुद्दा हाल्न लगाएर त्यसलाई रोकिएको आरोप लगाए ।

अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने कुरामा आफूहरुको बिमती नरहेको उल्लेख गर्दै नागरिकता विधेयकका सम्बन्धमा अनावश्यक राजनीति गर्न खोजिएको बताए । उनले गएको स्थानीय तहको निर्वाचनमा सत्ता, प्रहरी प्रशासन र राज्य संयन्त्रको अनेक प्रकारले दुरुपयोग गरिएको आरोप लगाउँदै अबका दिनमा पनि हस्तक्षेपकारी भूमिका नखेल्न सरकारलाई चेतावनी दिएका थिए ।

मन्तव्यको क्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान सभाबाट संविधान घोषणा भए पछि अपेक्षित विकास र समृद्धिको काम हुन नसकेको स्विकार गरेका थिए ।

५ बर्षे संसदको कार्यकाल रहेको र सदनबाट अर्को सरकार गठन हुने सम्भावना हुँदा हुँदै विगतमा दुई-दुई पटक पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराए पनि व्यापक जन दवाव र अदालतको सहयोगमा संसद पुनस्र्थापना गराउन सफल भएको बताउँदै अध्यक्ष प्रचण्डले संविधानमा नै नभएर अधिकार प्रयोग गरिएको बताए ।

राष्ट्रिय सभा सदस्यका लागि भएको पछिल्लो निर्वाचन, नेपाल बार एशोसियनको निर्वाचन, नेपाल पत्रकार महासंघको निर्वाचन तथा र स्थानीय तहको निर्वाचनले समेत पूर्व प्रधानमन्त्री ओलीलाई सन्देश दिईसकेको बताउँदै अध्यक्ष प्रचण्डले अझसम्म पनि पूर्वप्रधानमन्त्री ओलीको चेत खुल्न नसकेको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले सदनको कार्यकालको कुनै आयोगले तोक्न नसक्ने बताउँदै कार्यकालको सम्बन्धमा स्वयं सदनले संविधानको मर्म अनुसार निर्धारण गर्न सक्ने दावी गरे । विगतमा पूर्व प्रधानमन्त्री ओलीले नै राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको नागरिकता विधेयकलाई सदनमा ल्याउन नदिएको भन्दै अध्यक्ष प्रचण्डको आरोप थियो ।

अधिवेशन अन्त्यको अवसरमा पूर्व प्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले समेत बोल्दै आ-आफ्नो धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु