५ जेष्ठ २०८१, शनिबार

चोलेन्द्रको पूरक बयान सुरु, आजै सक्ने समितिको तयारी


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज सुरु भएको छ । महाअभियोग सिफारिस समितिको सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक बयान शुक्रबार बिहान साढे ९ बजेबाट सुरु भएको हो ।

हिजो बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गरिँदै छ । बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए ।

बयानको क्रममा आज समितिमा सांसदहरुले जबरालाई प्रतिप्रश्न गर्ने भएका छन् । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ गतेदेखि सुरु गरेको जबराको बयान आजै सकाउने तयारी गरेको छ ।

उनले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको भन्दै समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !