७ मंसिर २०८१, शुक्रबार

रात्रीभोजलाई सहज बनाउन सरकारले छोट्यायो महारानीको शोक अवधि


गृह मन्त्रालय

काठमाडौँ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष एवं चिनियाँ सभामुख ली झान्सुको सम्मानमा आयोजना गरिएको रात्रीभोजलाई सहज बनाउन देउवा सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा मनाउने भनिएको शोक अवधि छोट्याएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा आज नेपाल आएका चिनियाँ सभामुख ली झान्सु सहितको चिनियाँ उच्चस्तरीय पाहुनाको सम्मानमा सोल्टी होटेलमा रात्रीभोजको आयोजना गरेका छन् ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरेर शोक अवधि कार्यालय समयपछि समाप्त हुने जनाएको हो । देशले राष्ट्रिय शोक मनाइरहेको समयमा सभामुख सापकोटाले रात्रिभोज आयोजना गरेको भनेर आलोचना भएको थियो ।

नेपालमा कार्यालय भन्नाले बिहान १० बजेदेखि ५ बजेसम्म बुझिने भएकोले ५ बजेसँगै शोकको समय पनि समाप्त भएको हो । यद्यपि आजको दिन भने राति मध्यान्न १२ बजे मात्र समापन हुन्छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा भदौ २५ गतेदेखि २७ गतेसम्म ३ दिन शोक मनाउने निर्णय गरेको थियो । बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएको थियो ।

सभामुख सापकोटाले आयोजना गर्ने रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नजाने बताएका थिए । यस्तो बिरोध भएपछि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सहभागी नहुने भएको बताएका थिए ।

बेलायती महारानी एलिजावेथको निधनमा सरकारले राष्ट्रिय शोक मनाइरहँदा रात्रिभोज आयोजना गर्नु गम्भीर कूटनीतिक भुल भएको भन्दै अध्यक्ष तिमिल्सिना उक्त रात्रिभोजमा नजाने उनको सचिवालय स्रोतले जनाएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकार बनेपछि नियमित रुपमा चीनविरोधी तथा चीनलाई अपमानित गर्ने निर्णय हुँदै आएकोमा अध्यक्ष लीको पूर्वनिर्धारित भ्रमणको जानकारी भएको देउवा सरकारले शोक मनाउने निर्णय गरेको भन्दै चीनको बारेमा जानकार राख्ने परराष्ट्र विज्ञहरूले आलोचना समेत गरेका छन् ।

यस्तो छ हेर्नुस् गृह मन्त्रालयले निकालेको विज्ञप्ति

महारानीको शोक अवधि

यो पनि पढ्नुहोस्

सभामुख सापकोटाले गर्ने रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना नजाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !