८ बैशाख २०८१, शनिबार

सभामुख सापकोटाले गर्ने रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना नजाने


अग्निप्रसाद सापकोटा र गणेशप्रसाद तिमिल्सिना

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गर्ने रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नजाने उनको सचिवालय स्रोतले नेपालपत्रलाई जानकारी दिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा आज नेपाल आउने जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुसहितको चिनियाँ उच्चस्तरीय पाहुनाको सम्मानमा आयोजना हुन लागेको रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सहभागी नहुने भएका हुन् ।

बेलायती महारानी एलिजावेथको निधनमा सरकारले राष्ट्रिय शोक मनाइरहँदा रात्रिभोज आयोजना गर्नु गम्भीर कूटनीतिक भुल भएको भन्दै अध्यक्ष तिमिल्सिना उक्त रात्रिभोजमा नजाने उनको सचिवालय स्रोतले जनाएको छ ।

सभामुख सापकोटाको निमन्त्रणामा उनका चिनियाँ समकक्षी एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सु आज नेपाल भ्रमणमा आउँदैछन् । झान्सु नेतृत्वको प्रतिनिधि मण्डलको सम्मानमा सभामुख सापकोटाले आज साँझ ६ः३० मा सोल्टी होटलमा रात्री भोजको आयोजना गर्ने भएका छन् ।

सभामुख सापकोटाले आयोजना गर्ने रात्रीभोजमा भूपू प्रधानमन्त्री, मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, भूपू सभामुखलगायत शीर्ष पाहुनाहरू सहभागी हुने बताइएको छ । उक्त रात्रीभोजको विषयलाई लिएर सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच टसल देखिएको छ ।

यस्तै संसदको कार्यकाल लम्ब्याउने विषयलाई लिएर व्यवस्थापिकाका दुई प्रमुख सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच गम्भीर मतभेद देखिएको छ । सभामुख सापकोटा अझै पनि संसदको कार्यकाल लम्ब्याउने पक्षमा देखिएका छन् भने अध्यक्ष तिमिल्सिना संसदको कार्यकाल लम्ब्याउनु हुँदैन भन्ने पक्षमा रहेका छन् ।

देउवा सरकार प्रतिनिधिसभाको आयू लम्ब्याएर नागरिकता विधेयक प्रमाणीकरण र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग आसन्न निर्वाचनअघि नै जसरी पनि टुंग्याउन चाहन्छ । यसको लागि विभिन्न कानुनी छिद्रको खोजीमा सत्ता गठबन्धन र सभामुख सापकोटा लागि परिरहेको भन्ने जस्ता समाचार पनि सार्वजनिक भएका छन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा भदौ २५ गतेदेखि २७ गतेसम्म ३ दिन शोक मनाउने निर्णय गरेको थियो । बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकार बनेपछि नियमित रुपमा चीनविरोधी तथा चीनलाई अपमानित गर्ने निर्णय हुँदै आएकोमा अध्यक्ष लीको पूर्वनिर्धारित भ्रमणको जानकारी भएको देउवा सरकारले शोक मनाउने निर्णय गरेको भन्दै चीनको बारेमा जानकार राख्ने परराष्ट्र विज्ञहरूले आलोचना समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !