९ असार २०८१, आइतबार

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताका नेता तथा सभामुख ली आइपुगे काठमाडौँ


लि झान्सु र अग्निप्रसाद सापकोटा

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनका सभामुख लि झान्सु आफ्नो ४ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सु काठमाडौँ आइपुगेका हुन् ।

त्रिभुवन विमानस्थलमा चिनियाँ सभामुख लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । झान्सुले नेतृत्व गरेको चिनियाँ टोलीमा एक सयभन्दा बढी सदस्यहरु रहेका छन् ।

छिमेकी मुलुक चीनको सभामुखस्तरीय नेपाल भ्रमण पहिलो पटक भएको हो । अध्यक्ष झान्सु आज भदौ २७ देखि ३० गतेसम्म नेपालको औपचारिक भ्रमणका लागि विशेष विमानबाट नेपाल आएका हुन् ।

अघिल्लो बर्षको चैत्र महिनामा भएको दुई पक्षीय भर्चुअल मिटिङ्गको क्रममा सभामुख सापकोटाले समकक्षी झान्सुलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताका नेता तथा सभामुख झान्सु सभामुख सापकोटाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल आएका हुन् ।

चिनियाँ सभामुख झान्सु र सभामुख सापकोटाबीच आज साँझ ५ः२० मा संघीय संसद भवन नयाँ बानेश्वरमा दुईपक्षीय भेटघाट हुने कार्यक्रम रहेको छ । दुई पक्षीय छलफलपछि दुई देशको संसदको आपसी हित र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत हुनेछ । आज नै सभामुख सापकोटाले झान्सु नेतृत्वको प्रतिनिधि मण्डलको सम्मानमा साँझ ७ बजे सोल्टी होटलमा रात्री भोजको आयोजना गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भने चिनियाँ सभामुख झान्सुले भोलि भाद्र २८ गते बिहान ९:१५ बजे संघीय संसद भवनमै भेट गर्नेछन् । त्यसपछि १० बजे मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग र १०:४५ बजे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग सभामुख झान्सुले संसद भवनमै भेट गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ राष्ट्रिय जनकँग्रेसका स्थायी समिति अध्यक्ष झान्सुले भाद्र २८ गते नै पराराष्ट्रमन्त्री डा. नारायण खड्कालाई सोल्टी होटेलमै भेट्नेछन् भने भोलि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बालुवाटारमा भेटघाट हुनेछ ।

चिनियाँ सभामुख झान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भाद्र २९ गते शिष्टाचार भेट गर्नेछन् भने सोही दिन चिनियाँ प्रतिनिधि मण्डलले २०७२ सालको भूकम्पबाट क्षति भई पुनर्निर्माण भएका भक्तपुर दरबार परिसरका मठमन्दिरहरुको अवलोकन भ्रमण गर्नेछन् । झान्सु नेतृत्वको टोली आफ्नो चार दिने भ्रमण सकेर भाद्र ३० गते गते बिहिबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !