१६ असार २०८१, आइतबार

चीनका सभामुख झान्सु भोलि नेपाल आउँदै


काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनका सभामुख लि झान्सु आफ्नो ४ दिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताका नेता तथा सभामुख झान्सु प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल आउन लागेका हुन् ।

झान्सु १७ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भोलि दिउँसो ३ बजे नेपाल आइपुग्नेछन् । छिमेकी मुलुक चीनको सभामुखस्तरीय नेपाल भ्रमण पहिलो पटक हुन लागेको हो । अघिल्लो बर्षको चैत्र महिनामा भएको दुई पक्षीय भर्चुअल मिटिङ्गको क्रममा सभामुख सापकोटाले समकक्षी झान्सुलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।

चिनियाँ सभामुख झान्सु र सभामुख सापकोटा बीच भोलि साँझ ५ः२० मा संघीय संसद भवन नयाँ बानेश्वरमा दुईपक्षीय भेटघाट हुने कार्यक्रम रहेको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले नेपालपत्रलाई जानकारी दिए ।

दुई पक्षीय छलफलपछि दुई देशको संसदको आपसी हित र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत हुनेछ । भोलि नै सभामुख सापकोटाले झान्सु नेतृत्वको प्रतिनिधि मण्डलको सम्मानमा साँझ ६ः३० मा सोल्टी होटलमा रात्री भोजको आयोजना गर्ने भएका छन् ।

प्रवक्ता डा.पाण्डेका अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भने चिनियाँ सभामुख झान्सुले पर्सी भाद्र २८ गते बिहान ९ बजे संघीय संसद भवनमै भेट गर्नेछन् । त्यसपछि १०ः३० मा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग र ११ः३० मा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग सभामुख झान्सुले संसद भवनमै भेट गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ राष्ट्रिय जनकँग्रेसका स्थायी समिति अध्यक्ष झान्सुले भाद्र २८ गते नै पराराष्ट्रमन्त्री डा.नारायण खड्कालाई सोल्टी होटेलमै भेट्नेछन् भने सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि सम्भवतः बालुवाटारमा भेटघाट हुनेछ ।

चिनियाँ सभामुख झान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भाद्र २९ गते शिष्टाचार भेट गर्नेछन् भने सोही दिन चिनियाँ प्रतिनिधि मण्डलले २०७२ सालको भूकम्पबाट क्षति भई पुनर्निर्माण भएका भक्तपुर दरबार परिसरका मठमन्दिरहरुको अवलोकन भ्रमण गर्नेछन् । झान्सु नेतृत्वको टोली आफ्नो चार दिने भ्रमण सकेर भाद्र ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !