१२ असार २०८१, बुधबार

भोलिसम्म बयान सक्ने समितिको तयारी, आफूलाई सोधेका प्रश्नहरुको औचित्य नभएको जबराको जिकिर


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान भोलिसम्म सक्ने तयारी गरेको छ ।

सिफारिस समितिमा रहेका एक सदस्यका अनुसार आज र भोलि जबराको बयान लिने बताएका छन् । समितिले बाँकी रहेका अन्य प्रश्नहरूको लिखित जवाफ पनि मागेर बयान सिध्याउने तयारी गरेको हो ।

यसैबीच निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाएका छन् । आज आइतबार बयान दिने क्रममा जबराले आफूमाथि सोधिएका जे-जस्ता प्रश्नहरु सबै न्यायपालिका ध्वस्त पार्ने खालको भएको जिकिर गरेका छन् ।

उनले सबै प्रश्नहरु न्यायपालिका ध्वस्त पार्ने खालका भएको भन्दै आफूमाथि लगाइएको महाभियोगलाई राजनीतिकरण गर्न खोजिएको आरोप समेत लगाए । उनले न्यायपालिकाको गरिमामा आँच आउने तत्वहरुलाई निर्थक बनाउन समेत आब्हान गरे ।

सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बयान जारी रहेको छ । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न सोध्न तयार गरेकोमा यसअघि ११ वटा प्रश्नको मात्रै बयान लिएको थियो । आज १२ नम्वर प्रश्नबाट बयान सुरु गरिएकोमा अहिलेसम्म ३ वटा प्रश्न सोधिएको र ती प्रश्नहरुको जबराले जवाफ दिइसकेका छन् ।

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीशमाथि नै प्रश्न उठाउँदै आएका छन् । बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भइसकेको दावी गर्दै आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गर्दै आएका छन् ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !