५ जेष्ठ २०८१, शनिबार

नेकपा एस छोड्ने क्रम बढ्यो, बालकृष्ण फर्किए एमालेमै


डा. बालकृष्ण चापागाईं

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा लागेका तत्कालिन नेकपाका नेताहरुले उक्त पार्टी छोड्ने क्रम बढेको छ । नेकपा एसका अध्यक्ष माधव नेपालले नेकपा (माओवादी केन्द्र) संग पार्टी एकता गर्ने भनेपछि पार्टी परित्याग गरेर एमालेमा फर्किनेको संख्यामा तीव्रता आएको हो ।

यसैक्रममा नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं पनि एमालेमै फर्किएका हुन् । एमाले विभाजन हुँदा नेता नेपालले गठन गरेको समाजवादीमा लागेका चापागाईं ​अर्थ तथा योजना विभागका उपप्रमुख एवं रुपन्देही इन्चार्ज थिए ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो सामाजिक संजाल ट्वीटरमार्फत चापागाईं एमालेमा फर्किएको जानकारी दिएका हुन् । आज आइतबार बिहान चापागाईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका हुन् ।

राष्ट्रिय समाचार समिति (रासस) का पूर्व महाप्रबन्धक तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्षसमेत रहेका चापागाईंले आफू पुरानै घर एमालेमा फर्किएर राजनीति गर्ने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !