५ जेष्ठ २०८१, शनिबार

विशिष्ट व्यक्तिद्वारा भक्तपुरको ऐतिहासिक सम्पदाको अवलोकन


भक्तपुरको ऐतिहासिक सम्पदाको अवलोकन

भक्तपुर । काठमाडौँ महानगरपालिकालगायत देशका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विदेशी पाहुनासहित ७५ जनाको टोलीले आज भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन् ।

काठमाडौँका नगरप्रमुख बालेन साह, उपप्रमुख सुनिता डङ्गोल, जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेल्धुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल तथा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ एवं प्रशासकीय अधिकृतसहितको टोलीले भक्तपुरको दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ आउनुभएका भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले आफ्नै नगरपालिका कार्यालयको सभाकक्षमा नगरप्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगो अङ्कित परम्परागत खाँदा तथा महिला अतिथिलाई सुर्केथैली उपहारसहित स्वागत गए ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका वैज्ञानिक समाजवादप्रति आस्थावान जनप्रतिनिधि कार्यरत रहेको बताउँदै भक्तपुरमा मौलिकशैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख बाटोतर्फ नगरपालिका अगाडि बढिरहेको बताए ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले एक सय वर्षपछिको भक्तपुरको आधार निर्माण गरिरहेको बताउँदै प्रजापतिले जनप्रतिनिधिहरुबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुनेमा जोड दिए ।

निर्वाचनका समयमा जनतासँग गरेको बाचा पूरा गर्दै जनतासँग नजिकमा रहेर काम गर्ने स्थानीय सरकारले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले आत्मनिर्भरतालाई जोड दिएर विदेशीको सहयोगलाई अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुर नगरपालिकाले यहाँका सम्पदाको पुनःनिर्माण एवं जीर्णोद्धार गरिरहेको जानकारी गराए ।

नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको संक्षिप्त प्रस्तुतीकरण देखाउँदै कला संस्कृतिमा धनी नगरलाई विश्वकै हेर्न लायक सहरका रुपमा विकास गर्न लागि रहेको बताए । काठमाडौंका प्रमुख साहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाइबाट आफू निकै प्रभावित भएको भन्दै ठेक्का पट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिको नियमित अनुगमन हुनुपर्ने बताए । विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणको रुपमा रहेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरी जनताको आधारभूत आवश्यकतामा पर्ने विषयको जिम्मा राज्यले लिनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले महानगर र नपाबीचको समन्वय तथा सहकार्य आगामी दिनमा अझ प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै मूर्त, अमूर्त सम्पदा काठमाडौँ उपत्यकाको विशेषता नै रहेको तर भक्तपुर र विराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको बताए ।

उपप्रमुखका तर्फबाट रामग्राम नपाका उपप्रमुख सम्झना चौधरी र भक्तपुर–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिकाबीचको सम्बन्ध र उपलब्धि एकअर्कामा परिचित गराउनुपर्नेमा जोड दिए । सम्पदाको अवलोकन पश्चात नगरप्रमुख प्रजापतिले उहाँहरुलाई प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशन उपहार स्वरुप प्रदान गरेका थिए ।

भक्तपुरको ऐतिहासिक सम्पदाको अवलोकन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !