१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक जारी


कार्यदल बैठक

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक जारी रहेको हो ।

गठबन्धनको कार्यदलले आज शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउँदै छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आज बिहीबार टुङ्ग्याउन लागेको हो ।

हिजोको बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज जारी बैठकले शीर्ष नेतृत्वलाई बुझाउने छ । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको बताइएको छ ।

दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको छ । कार्यदलको जारी बैठकले आफ्नो जिम्मेवारी टुङ्ग्याउन छलफलमा जुटेको हो ।

गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !