१३ बैशाख २०८१, बिहिबार

गठबन्धनको कार्यदलले टुंगो लगायो सिट बाँडफाँड, प्रतिवेदन भोलि बुझाइने


कार्यदल बैठक

काठमाडौँ । सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँडको लगभग टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको कार्यदलको बैठकले सिट बाँडफाँडको टुंगो लगाएको हो ।

आज कार्यदलको बैठकपछि पत्रकारसँग बोल्दै उनले सिट बाँडफाँड करिब–करिब टुंगिएको बताउँदै प्रतिवेदनलाई भोलि कार्यदलले अन्तिम रूप दिएर भोलि नै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने र त्यसपछि शीर्ष नेतालाई बुझाइने बताइएको भएको छ । गठबन्धनमा आवद्द दलहरूले सिट संख्या घटाएपनि कुन दलको कति सिट पाउने भए भन्ने उनले खुलाएनन् ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेका कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !