१३ बैशाख २०८१, बिहिबार

सिट बाँडफाँट आज टुंगो लगाउन कार्यदलको बैठक बस्दै


कार्यदल बैठक

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बस्ने भएको हो ।

हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्ने भएको हो । गठबन्धनमा आसन्न निर्वाचनको लागि आज बस्ने बैठकले जसरी पनि सिट बाँडफाँट आज टुंगो लगाउने कार्यदलको दाबी रहेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको कार्यदलसहित शीर्ष नेताको बैठकले प्रतिनिधिसभाका लागि १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूले पाउने सिटको बाँडफाँडको टुंगो लगाएको संकेत गरेका थिए ।

गठबन्धनका दलबीच १६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा पाउनेगरी संख्या तथा निर्वाचन क्षेत्रमा सहमति जुटेको बताइएको छ । गठबन्धनका कुन दलले कुन-कुन निर्वाचन क्षेत्र पाउने भन्ने पनि लगभग सहमति जुटेको हो । यद्यपि प्रदेशको समेत टुंगो लागेपछि मात्र फेरि छलफल गरेर सवै सार्वजनिक गरिने बताइएको छ ।

लामो समयदेखि सहमति खोज्न बैठक बस्दा पनि आ-आफ्नो दलको अडान नछाडेपछि सिट बाँडफाँट टुंगो लाग्न सकेको थिएन । यसअघि गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए ।

अव आज पनि सिट बाँडफाँटको बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शीर्ष तहलाई जानकारी गराउने भएको छ । यस्तै गठबन्धनका शीर्ष नेताको बैठक भोलि बुधबार बस्ने छ । गठबन्धनको बुधबार बस्ने भनिएको बैठकमा कार्यदलले हालसम्मको भएको प्रगति विवरण सुनाउने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !