४ बैशाख २०८१, मंगलबार

अन्तत: गठबन्धनमा १६५ सिटको बाँडफाँडको टुंगो लाग्यो


कार्यदल बैठक

काठमाडौँ । लामो रस्साकस्सीपछि अन्तत: सत्ता गठबन्धनमा १६५ सिटको बाँडफाँडको टुंगो लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धन कार्यदलसहित शीर्ष नेताको बैठकले प्रतिनिधिसभाका लागि १६५ सिटको बाँडफाँडको टुंगो लगाएको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताका अनुसार गठबन्धनका दलबीच १६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा पाउनेगरी संख्या तथा निर्वाचन क्षेत्रमा सहमति जुटेको हो । गठबन्धनका कुन दलले कुन-कुन निर्वाचन क्षेत्र पाउने भन्ने पनि लगभग सहमति जुटेको छ । यद्यपि प्रदेशको समेत टुंगो लागेपछि मात्र फेरि छलफल गरेर सवै सार्वजनिक गरिने बताइएको छ ।

लामो समयदेखि सहमति खोज्न बैठक बस्दा पनि आ-आफ्नो दलको अडान नछाडेपछि सिट बाँडफाँट टुंगो लाग्न सकेको छैन । हिजोको बैठकमा शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन दिएका थिए ।

यसअघि गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए ।

अव भोलि पनि सिट बाँडफाँटको बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शीर्ष तहलाई जानकारी गराउने भएको छ । यस्तै गठबन्धनका शीर्ष नेताको बैठक बुधबार बस्ने छ । गठबन्धनको बुधबार बस्ने भनिएको बैठकमा कार्यदलले हालसम्मको भएको प्रगति विवरण सुनाउने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु