८ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै


कार्यदलको बैठक

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन कार्यदलको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

आगामी संसदीय निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटको जिम्मा पाएको कार्यदलको बैठक आज बस्न लागेको हो । हिजो पनि गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुसहित बसेको निर्णायक बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो ।

लामो समयदेखि सहमति खोज्न बैठक बस्दा पनि आ-आफ्नो दलको अडान नछाडेपछि सिट बाँडफाँट टुंगो लाग्न सकेको छैन । हिजोको बैठकमा शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन दिएका थिए ।

सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी गरेको छ । हिजोको बैठकमा गठबन्धन दलले पाउने सिट संख्याका साथै निर्वाचन क्षेत्रको बाँडफाँटका बिषयमा पनि छलफल भएको थियो ।

अव दुई दिन सिट बाँडफाँटको बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शीर्ष तहलाई जानकारी गराउने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका छन् ।

यस्तै गठबन्धनका शीर्ष नेताको बैठक बुधबार बस्ने छ । गठबन्धनको बुधबार बस्ने भनिएको बैठकमा कार्यदलले हालसम्मको भएको प्रगति विवरण सुनाउने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !