१५ आश्विन २०८१, मंगलबार

सिट बाँडफाँटमा अझै जुटेन सहमति, निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको निर्णायक बैठकमा आज पनि सहमति जुट्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुसहित बसेको निर्णायक बैठक पनि बिनानिष्कर्ष टुंगिएको हो ।

लामो समयदेखि सहमति खोज्न बैठक बस्दा पनि आ-आफ्नो दलको अडान नछाडेपछि सिट बाँडफाँट टुंगो लाग्न नसकेको हो । आजको बैठकमा शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन दिएका हुन् ।

सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी गरेको छ । आजको बैठकमा गठबन्धन दलले पाउने सिट संख्याका साथै निर्वाचन क्षेत्रको बाँडफाँटका बिषयमा पनि छलफल भएको थियो ।

अव दुई दिन सिट बाँडफाँटको बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शीर्ष तहलाई जानकारी गराउने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आज बिहान पनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको थियो । दुई शीर्ष नेताबीच सिट बाँडफाँटबारे समान धारणा बनाउनेबारे छलफल भएको थियो ।

गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका छन् । यसअघि बिहीबार बसेको बैठकमा दलहरुबीच सहमतिका विभिन्न खाकामा छलफल भएपनि सहमति जुट्न सकेको थिएन ।

कार्कीका अनुसार कार्यदलको अर्काे बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने छ । यस्तै गठबन्धनका शीर्ष नेताको बैठक बुधबार बस्ने छ । गठबन्धनको बुधबार बस्ने भनिएको बैठकमा कार्यदलले हालसम्मको भएको प्रगति विवरण सुनाउने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !