७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाबाट ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ स्वीकृत


नागरिकता विधेयक पारित फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई स्वीकृत गरेको छ । दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा(कोइराला)ले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुका कानूनमन्त्री कोइरालाले जवाफ समेत दिएपछि विधेयकलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधि सभाको पहिलो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गरेका थिए ।

उक्त विधेयक प्रस्तुत गर्नुअघि बैठकले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । नेमकिपाका सांसद प्रेम सुवालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’लाई अनुमति माग्ने प्रस्ताव माथि विरोधको सूचना प्रस्तुत गरेका थिए ।

पहिलो बैठकमा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०५ र नियम १११ का प्रावधानको समय सीमा छोट्याउन नियमावलीको नियम २५० बमोजिम नियम निलम्बन गरी उक्त विधेयक प्रस्तुत गरिएको थियो ।

बैठकमा नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०५ र नियम १११ का प्रावधानको समय सीमा छोट्याउन नियमावलीको नियम २५० बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेको थिए ।

उक्त प्रस्तावलाई सांसदहरु रामकुमारी चौधरी र प्रमोद साहले समर्थन गरेका थिए । उक्त नियम निलम्बन पछि अब सदनमा सरकारी विधेयक प्रस्तुत गर्नु भन्दा ५ दिन अगाडि नै सांसदहरुलाई जानकारी गराउनु पर्ने प्रावधानलाई घटाएर १ दिन पारिएको भने विधेयक माथिको सामान्य छलफल सकिएको मितिले ७२ घण्टा भित्र विधेयकउपर संशोधन हाल्ने सक्ने प्रावधानलाई घटाएर २४ घण्टा बनाइएको छ । प्रतिनिधि सभाको पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।

आजको पहिलो बैठकले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्य व्यवस्था परामर्श समिति, संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरु, र प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा रहने सदस्यहरुको नाम हेरफेर समेत गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा छुट्टाछुट्टैरुपमा प्रस्तुत ती तीनवटै प्रस्तावलाई सभाले सहमति जनाएका थियो । प्रतिनिधि सभाको अर्को बैठक पर्सी भाद्र २१ गते दिउँसो १ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !