१३ बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठकमा सदन तथा सरकारको ध्यानाकर्षण


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शुरुमै समय मागेर बोल्दै नेकपा(एमाले)का सांसद पदम गिरीले त्रिभूवन विश्वविद्यालयको तालाबन्दी र आन्दोलनको बिषयमा सभामुखबाट रुलिङ हुँदा समेत सरकारले समस्या समाधान गर्न कुनै चासो नदेखाएको भन्दै यस बिषयमा पुनः रुलिङको माग गरेका थिए ।

वर्तमान गठबन्धन सरकार बने देखि नै त्रिभूवन विश्वविद्यालय प्रायः बन्द नै रहेको भन्दै सांसद गिरीले सत्ता नेतृत्वकर्ता दल निकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले त्रि.वि.कै एकजना प्राध्यापकलाई मरणासन्न हुने गरी विगतमा कुटेपछि पक्राउ परेका व्यक्तिले बुझाउनु पर्ने धरौती बापतको रकम त्रि.बि.ले नै बुझाउनु पर्ने भनी विद्यार्थीहरुले तालाबन्दी गरिरहेको बताए ।

उनले यही भाद्र १० गते त्रि.बि.का पदाधिकारीको असुरक्षाका कारण होटल प्यागोडामा बैठक बसेको र त्यो बैठकमा समेत नेविसंघका नेता तथा कार्यकर्ताहरु प्रवेश गरी माईन्यूट लगायतका डकुमेन्टहरु कब्जामा लिएको र पछि त्यो डकुमेन्ट शिक्षामन्त्रीलाई बुझाइएको बताए । उनले प्रश्न गरे, ‘शिक्षामन्त्री त्यस्तो डकुमेन्ट बुझ्ने निकाय हो कि हैन ? बुझ्न मिल्छ कि मिल्दैन ?’

सांसद गिरीले अहिले त्रि.बि.का पदाधिकारीहरु असुरक्षित बनेका र फोन अफ गरी छिमेकीको घरमा गएर सुत्न बाध्य भइरहेको भन्दै प्रहरी भने नेविसंघले लगाएको ताला हेरेर बसिरहेको बताए ।

समय मागेर बोल्दै नेपाली काँग्रेसका सांसद जिपछिरिङ लामाले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-९ लगायत जिल्लाका विभिन्न ठाउँमा लगातारको बर्षा कारण पहिरो आई स्थानीय व्यक्तिका घरहरु र खेतीयोग्य जमिन समेत बगाएकाले पीडितहरुलाई उचित राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि सरकारसँग माग गरेका थिए ।

सांसद लामाले लिपुलेक नेपाली भूमि भएकाले सरकारले वार्ता गरेर कहिले जमिन फिर्ता ल्याउँछ ? भनी प्रश्न गरेका थिए । उनले श्रीमान र श्रीमतीलाई नै सांसद पदको उम्मेदवार बनाउन मिल्ने कानून परिवर्तन गरी दुबैजना उम्मेदवार भएको खण्डमा उम्मेदवारीनै खारेज गर्ने कानून बनाउनु पर्ने धारणा पनि राखेका थिए ।

समय मागेर बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद गिरिराज मणि पोखरेलले मिटर ब्याजी पीडितहरुको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै महोत्तरी, सर्लाही, नवरपरासी र सप्तरी लगायतका पीडितहरुले एक महिना देखि आन्दोलन जारी राखेको बताए । सांसद पोखरेलले कतिपय ठाउँहरुमा स्वयं पीडितहरु नै भागाभाग हुनुपर्ने अवस्था समेत आएको बताउँदै दोषीहरुलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले शुन्य समयमा समेत बोल्दै सभामुख मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।

शुन्य समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद मिना सुब्बाले उपत्यकाका अस्पतालहरुमा अहिले डेंगुका विरामीहरु बढिरहेको, टेकु अस्पतालमा दैनिक ५०/६० जना डेंगुका बिरामीहरु आउने गरेको तथा अहिले सम्म डेंगुबाट ३ जनाको मृत्यु भइसकेकाले रोग नियन्त्रणका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराएकी थिइन् ।

नेकपा(एमाले)की सांसद मैनाकुमारी भण्डारीले नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकता तत्काल दिने व्यवस्था राख्न नहुने भन्दै भारतमा समेत बिवाह गरेर गएको ७ बर्ष पछि मात्र नागरिकताको लागि आवेदन दिन पाइने व्यवस्था रहेको बताएकी थिइन् । उनले नेपालमा भुटानी र तिब्बती शरणार्थीहरु समेत रहेकाले बिवाह गरेर आउने बित्तिकै नेपाली नागरिकता दिँदा भोलि नेपाली वंशज नै आफ्नै देशमा शरणार्थी हुन सक्ने तर्फ सदनको ध्यानाकर्षण गराएकी थिइन् ।

शुन्य समयमा नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले सरकारको ढुकुटीमा पैसा नहुने तर व्यक्तिसँग धेरै सम्पत्ति हुने भएकाले उनीहरुको सम्पत्ति माथि छानबिन हुनुपर्ने बताएकी थिइन् । उनले निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदा उम्मेदवारले पेश गरेको सम्पत्तिको बिवरण गोप्य नराखी सार्वजनिक गर्नुपर्ने बताइन् ।

शुन्य समयमा जसपाकी सांसद रेणुका गुरुङले खुल्ला सीमानाका कारण भारतीय नम्बर प्लेटको मोटर साईकलमा नेपाल छिरेर दुई जनाले कपिलवस्तुको मायादेवीमा-६ मा यही भाद्र १० गते एकजनाको हत्या गरेको, विगतमा पनि भारतीय सुरक्षाकर्मीबाट गोबिन्द गौतमको हत्या भएको हो र जयसिंहको तुइन घटनाको घाउ पनि अहिलेसम्म आलै रहेकाले अपराध न्यूनीकरण र सीमाको सुरक्षाका लागि पनि नेपाल र भारतको सीमामा काँडेतार लगाउनु पर्ने बताएकी थिइन् । कार्यपालिका सदस्य समेत भइसकेको र वर्तमान व्यवस्थापिकीय सदस्य स्वयंलाई संघीय राजधानीमा सरकारले सुरक्षा दिन नसकेको बताउँदै सांसद गुरुङले तिहारमा समेत निषेध गरिएको रकेट बम आफ्नो घर आँगनमा पड्किँदा समेत सुरक्षा निकायले पटाका भनेर गैर जिम्मेवारी प्रतिक्रिया दिएको आरोप बताइन् ।

शुन्य समयमा सांसदहरु राजेन्द्रकुमार केसी, रामवीर मानन्धर लगायतले बोलेका थिए । प्रतिनिधि सभाको अर्को बैठक पर्सी भाद्र १९ गते दिउँसो २ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !