१२ असार २०८१, बुधबार

राष्ट्रियसभाको बैठक बस्दै, नागरिकता विधेयकमाथि सांसदहरुले बोल्नेक्रम जारी


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रियसभाको बैठक आज अपराह्न २.५९ बजे बस्ने भएको हो ।

राष्ट्रियसभाको हिजोको दोस्रो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाइएको ‘नेपाल नागरिकता (पहिलो संशोधन), २०७९’ लाई पुनः पारित गर्ने कार्यसूची रहे पनि विधेयकमाथि सांसदहरुले बोल्नेक्रम नसकिएकाले हिजो पास हुन सकेन ।

हिजोको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभाको यही भाद्र १२ गतेको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नागरिकता विधेयकका बारेमा सदनलाई जानकारी गराइएको थियो भने सोही दिन बसेको दोस्रो बैठकले पुनर्विचारका लागि आएको नागरिकता विधेयकलाई पुनर्विचारको लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएको थियो ।

यही भाद्र २ गते बसेको प्रतिनिधि सभाको बैठकले उक्त विधेयकलाई जस्ताको तस्तै पारित गरी राष्ट्रिय सभामा सन्देश सहित पठाएको थियो ।

संसदको दुवै सदनबाट पारित भई गत साउन १६ गते नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाइएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) बिधेयक, २०७९’ लाई राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित विधेयकलाई साउन २९ गते पुनः प्रतिनिधि सभामा नै पुनिर्विचारका लागि फिर्ता पठाएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !