![विद्यादेवी भण्डारी र महन्थ ठाकुर](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/08/Bidhyadevi-Bhandari-and-Mahanta-Thakur12334.jpg?fit=1053%2C500&ssl=1)
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसंग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुले भेट गरेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरद्सिंह भण्डारीलगायत नेताहरुले आज शनिबार शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका विषयमा लोसपाका नेताहरुसँग छलफल गरेकी हुन् । भेटवार्ताका क्रममा कोही पनि नेपालीलाई नागरिकता विहीनताको अवस्था हुन नदिनका लागि लोसपाका नेताहरुले आग्रह गरेका थिए ।
आज राष्ट्रपति भवन शीतल निवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनु परेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् ।
छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका सन्दर्भमा आफू पनि संवेदनशील रहेको जनाएका थिए । आफूहरूले उठाएको विषयप्रति राष्ट्रपति अत्यन्त सकारात्मक पाएको लोसपाका नेता केशव झाले जानकारी दिए ।
विगतदेखि नै कोही पनि नागरिक राज्य विहीनताको अवस्थामा हुनु हुँदैन भनेर लोसपाले उठाउँदै आएकोमा राष्ट्रपति भण्डारीले सकारात्मक प्रतिक्रिया दिएको लोसपका एक नेताले बताए ।
राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पुनर्विचार हुन आवश्यक रहेको सन्देशसहित गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।