११ पुस २०८१, बिहीबार

प्रधानमन्त्री देउवा सैनिक मुख्यालय जंगी अड्डामा


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका छन् । रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा जङ्गी अड्डा पुगेका हुन् ।

रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन सैनिक मुख्यालय जङ्गी अड्डा पुगेको जनाइएको छ ।

राष्ट्रपति भण्डारीले हिजो बुधबार प्रधानसेनापतिसहित पूर्वप्रधानसेनापतिहरूका साथै आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारीसंग परामर्श गरेको भोलिपल्ट प्रधानमन्त्री देउवा सैनिक मुख्यालय पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न पुग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

हिजो राष्ट्रपति भण्डारीले प्रधानसेनापति, पूर्वप्रधानसेनापतिहरूसहित करिब ७० जनालाई रात्री भोजमा बोलाएर राष्ट्रपतिले राजनीतिक संवादका साथै संसद्मा विचाराधीन नागरिकता विधेयकका विषयमा पनि छलफल पनि गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले पुनर्विचारको लागि संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित भएको छ । आफूले दिएको सुझाव नसमेटी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिंदै आएकी छिन् ।

राष्ट्रपति भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् ।

सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गराई सो विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारीलाई तीव्र पारेको छ । राष्ट्रपति भण्डारीले छलफलका क्रममा बुधबार नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गरेकी हुन् ।

छलफलका क्रममा सेनाका पूर्वजर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकृत गर्न नहुने सुझाव दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !