काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउँदै छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो ।
गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।
हिजो बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आज बिहीबार दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिएका थिए ।
उनले आफूहरूको पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए । उक्त पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको दाबी गरेको छ ।