काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा माननीय मन्त्री बडूले भारतबाट गहुँ तथा चिनी आपूर्तिमा सहजता प्रदान गर्न र भारत सरकारले नेपाली चियामा थप शुल्क तथा कर लगाउने विषय सञ्चारमाध्यममा आइरहेकोबारे ध्यानाकर्षण गराउनुका साथै भारत सरकारले नेपाली चिया निर्यातमा असर पर्ने निर्णय गर्ने छैन भन्ने विश्वास व्यक्त गर्दै यस विषयमा सहजीकरणका लागि राजदूतलाई आग्रह गरे ।