१२ पुस २०८१, शुक्रबार

प्रदेशको युवालाई ५० हजार कमाउने बनाउँछौँ : मुख्यमन्त्री पाण्डे


राजेन्द्र पाण्डे फाइल फोटो

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक रु ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने बताउनुभएको छ । बागमती उद्योग परिषद्ले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को तयारी बैठकमा उहाँले प्रदेश सरकारले तीन महिना बन्द प्रशिक्षण दिएर पहिलो चरणमा १० हजार जनशक्ति उत्पादनको कार्यक्रम राखेको जानकारी दिए ।

उहाँले उच्च प्रविधिको मेसिन सञ्चालनका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने र आफ्नो देशको युवा खाडीमा कठिन श्रम गर्न बाध्य हुनुपर्ने अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले उक्त कार्यक्रम गर्ने योजना बनाएको प्रष्ट्याए । अब पहिलो प्राथमिकता दक्ष युवा उत्पादन गर्नु रहेको उनको भनाइ छ । घरमा स्नातकोत्तर सकेर बसेका छोराछोरी भए पनि सामान्य मेसिन बिग्रँदा र पानीको पाइप कस्नुपरेमा पनि समस्या हुनु भनेको शैक्षिक प्रणालीमा समस्या रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

कच्चा पदार्थ प्राप्त हुने स्थान नजिकै उद्योग खोलेर उद्योग ग्रामको विकास गर्नुपर्ने उनको भनाइ छ । कच्चा पदार्थ टाढाबाट ढुवानी गरेर उत्पादन गर्दा लागत मूल्य बढ्ने मुख्यमन्त्री पाण्डेले जनाए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले औद्योगिक क्षेत्र, करको दायरा, ऊर्जा, नापतौल सबै सङ्घीय सरकारको मातहतमा नै हुनुले प्रदेश सरकारले अधिकार नपाएको बताए । प्रदेश सरकारले छोटो समयमा उपलब्धिमूलक काम गर्नुपर्ने र सोही दिशामा आफूहरु लागेको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !