काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बैठक आज मंगलबार दिउँसो २ बजे बस्ने भएको हो ।
आज बस्ने बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्नेछ । बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची छ । साथै समितिको सभापति चयन गर्ने सम्भावना समेत रहेको छ ।
प्रतिनिधिसभाका ९८ सांसदले फागुन १ गते २१ वटा अभियोग लगाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।जबरामाथि छानबिन गर्न प्रतिनिधिसभाले ज्येष्ठ सदस्य रामबहादुर विष्टसहित २२ फागुनमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
जबराविरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
समितिको १ भदौमा बसेको पहिलो बैठकमा कार्यविधिको मस्यौदा र कार्यतालिकामा छलफल भएको थियो । महाभियोग लागेसँगै जबरा निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका छन् ।
प्रतिनिधिसभा नियमावलीमा महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानविनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकाएर सिफारिस गर्नुपर्ने उल्लेख छ ।
उक्त समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवालमिया, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखाशर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन् ।