८ बैशाख २०८१, शनिबार

संघीय संसद र जीसीटीपीबीच समझदारी पत्रमा हस्ताक्षर


संघीय संसद र जीसीटीपीबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । संघीय संसद र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पीस(जीसीटीपी)बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको समुपस्थितीमा संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजना गरिएको एक कार्यक्रमका बीच नेपाल सो संस्थाको सदस्य राष्ट्र हुने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा संघीय संसदको तर्फबाट प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र जीसीटीपीको तर्फबाट सो संस्थाका म्यानेजर प्रो.डा.जोरन ईलीईभस्कीले हस्ताक्षर गरेको हुन् ।

सन् २०१७ मा स्थापना भएको सो संस्थाले जातीय, धार्मिक, साम्रदायीक भेदभावलाई हटाई सबै पक्षबीच सहिष्णुता र शान्ति स्थापनाका लागि भूमिका खेल्दै आएको बताइएको छ । अहिले उक्त संस्थामा ९५ वटा भन्दा बढि देशहरुले सदस्य राष्ट्रको रुपमा सहभागिता जनाइसकेको र यस संस्थाले विशेष गरी महिला, युवा र अपाङ्गता भएका व्यक्तिहरुलाई महत्व दिंदै उनीहरुलाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा निपूणर् भूमिका खेल्न दिने सिद्धान्त बोकेको पनि बताइएको छ ।

समझदारी पत्र हस्तार कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्ति स्थापना गर्ने उद्देश्य बोकेको यो प्रतिष्ठित संस्थालाई थप मद्धत पुग्ने अभिप्रायका साथ समझादी पत्रमा हस्ताक्षर गर्न लागिएको बताएका थिए ।

संस्थाले महिला, युवा र अपाङ्गको सशक्तिकरणमा भूमिका खेल्ने कुरा आफूले जानकारी पाएको र यसले विशेष गरी सबैपक्ष बीच सहिष्णुता कायम राख्दै शान्ति स्थापनाका लागि काम गर्ने भएकाले पनि आजको विश्वमा यसको ज्यादै ठूलो महत्व रहने दाबी गरेका थिए ।

रुस र युक्रेनको वर्तमान अवस्था लगायतका विषयहरुलाई हेर्दा पनि विश्व शान्ति अहिले प्रमुख आवश्यकता रहेको बताउँदै सभामुख सापकोटाले यो संस्थासँगको सहकार्यले विश्व शान्तिको लागि नयाँ आयाम थप्ने विश्वास पनि व्यक्त गरे ।

सभामुख सापकोटाले नेपाल आएका प्रतिनिधि मण्डलको सम्मानमा आज साँझ रात्रि भोजको आयोजना गरिएको र त्यसमा सहभागी हुन सबै प्रतिनिधि मण्डललाई विशेष अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा जीसीटीपीका अध्यक्ष अहमेद अल जरवानले संसारका ९५ वटा भन्दा बढि मुलुकहरु यो संस्थाको सदस्य भइसकेको बताउँदै शान्ति, सहकार्य र भातृत्वको चाहना सहित नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका थिए ।

संयुक्त राष्ट्रसंघको वडा पत्र र अन्तर्राष्ट्रिय कानूनहरुको आफूहरुले जहिले पनि सम्मान गर्ने भन्दै अध्यक्ष जरवानले संस्थाले यस अघि विभिन्न दश वटा राष्ट्रहरुमा कार्यक्रमहरु गरिसकेको र अब अर्को कार्यक्रम नेपालमा गरिने पनि जानकारी दिएका थिए ।

कार्यक्रमको शुरुमा सांसद हृदयेश त्रिपाठीले समझदारी पत्रमा हस्ताक्षर गरिन लागेको संस्था र संस्थाले गरेको कामहरुको बारेमा संक्षिप्त प्रकाश पारेका थिए ।

संघीय संसद र जीसीटीपीबीच समझदारी पत्रमा हस्ताक्षर

कार्यक्रममा उपसभामुख पुष्पा भुसाल गौतम, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) की सचेतक शान्ता चौधरी, नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्मा, सांसदहरु हृदयेश त्रिपाठी, उमाशंकर अरगरिया, कृष्ण गोपाल श्रेष्ठ, दिव्यमणिराज भण्डारी, सुरेश आलेमगर लगायतको उपस्थिति रहेको थियो । जीसीटीपीको प्रतिनिधि मण्डलमा नेपालका लागि दुबईका राजदूत शईद हमदन अल्नाक्बी, जीसीटीपीका अध्यक्ष अहमेद अल जरवान र अन्य सदस्यहरु रहेका थिए ।

जीसीटीपीको प्रतिनिधि मण्डलले सभामुख सापकोटासँग आज बिहान सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेट समेत गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !