१३ जेष्ठ २०८१, आइतबार

वाइसिएलको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै


वाइसिएलको राष्ट्रिय भेला फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो आयोजित पत्रकार सम्मेलनमा वाइसिएलका संयोजक सुमन देवकोटाले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ भोलिदेखि भेला सुरु हुनेछ । भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौँ आइसकेका छन् ।

दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापनसत्र गरी तीन सत्रमा अघि बढ्नेछ । बन्दसत्रमा विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने संयोजक देवकोटाले बताए ।

भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६०० प्रतिनिधि सहभागी हुनेछन् । जसमा केन्द्रीय समितिबाट एक सय ९६, प्रत्येक जिल्लाबाट तीन-तीन जना गरी दुई सय ५२, प्रदेश कमिटीबाट ३५, तीन वटा आयोगबाट ५२, केन्द्रीय प्रतिनिधि १६ सहभागी हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु