२५ बैशाख २०८१, मंगलबार

गणपूरक संख्या नपुगेपछि संसद बैठक साउन ३१ सम्मका लागि स्थगित


संसद बैठक फाइल फोटो

काठमाडौं । दोस्रो बैठकमा पनि गणपूरक संख्या नपुगे पछि प्रतिनिधि सभाको बैठक पर्सी सम्मका लागि स्थगित गरिएको छ । १५ मिनेट पछि बसेको बैठकमा पनि सांसदहरुको संख्या ६७ नै देखिए पछि सभामुख सापकोटाले बैठक पर्सी साउन ३१ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् । दोस्रो बैठक शुरु भए पछि पनि सांंसद सुवालले नै गणपूरक संख्या फेरि एकीन गर्न सभामुखसँग माग गरेका थिए ।

३ मिनेट घण्टी बजाएर सांसदहरुको संख्या एकीन गर्दा पछिल्लो बैठकमा समेत सांसदहरुको संख्या ६७ नै देखिएको थियो । दोस्रो बैठकमा समेत गणपूरक संख्या नपुगे पछि सभामुख सापकोटाले कार्यसूचीमा रहेका बाँकी कार्यक्रमलाई कार्यसूचीबाट हटाएको घोषणा गर्दै बैठक स्थगित गरेका थिए ।

आजको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए ।

सांसद सुवालको नियमापत्ति पछि ३ मिनेट घण्टी बजाई सांसदहरुको संख्या एकीन गर्दा कम्तिमा पनि एक चौथाई अर्थात् ६९ जना हुनु पर्नेमा जम्मा ६७ मात्र देखिए पछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !