काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
उक्त परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहने छन् । जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने छन् ।
यस्तै एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।
आज बसेको बैठकले आगामी निर्वाचनका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । एमालेले भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला एमालेले पनि आसन्न निर्वाचनको तयारीका लागि चुनावी रणनीति बनाएको हो । निर्वाचनको मिति घोषण भएसँगै राजनीतिक दलहरुले छलफललाई तीव्रता दिएका छन् ।