१३ बैशाख २०८१, बिहिबार

प्रचण्डसँग बाबुरामको भेट, एउटै चिह्नमा चुनाव लड्न प्रस्ताव


पुष्पकमल दाहाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता गरेका छन् । ललितपुरको हात्तीवनस्थित एक निजी निवासमा आज प्रचण्डसँग बाबुरामको भेट भएको हो ।

उक्त भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । आज बिहान सवा ९ बजेदेखि सवा १० बजेसम्म करिव एक घण्टा तीन नेताहरुबीच भेट भएको हो ।

डा. भट्टराईले बिहीबार अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई भेटेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरेका छन् । भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको भट्टराई निकट एक नेताले बताए ।

उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेसपा बनाएका भट्टराई पाँच दलीय गठबन्धनमा आवद्ध हुन चाहेका छन् । डा. भट्टराईले औपचारिक रूपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्तालाई तीब्रता दिएका हुन् ।

यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत प्रमुख राजनीतिक दलका नेताहरूलाई भेट्ने डा. भट्टराईनिकट एक नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !