५ जेष्ठ २०८१, शनिबार

सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै


कार्यदलको बैठक

काठमाडौँ । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बस्दैछ । गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज दिउँसो २ बजे बस्ने भएको हो ।

यसअघि कार्यदलको गत साउन २३ गते बसेको पहिलो बैठक बसेपनि कुनै निर्णय गर्न सकेको थिएन । मंसिर ४ गेत हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धका दलहरुबीच सिट बाँडफाँटबारे छलफल हुन लागेको हो ।

आगामी निर्वाचनमा तालमेल गरेर जाने सहमति भएपनि गठबन्धनका दलहरूबीच सिट बाँडफाँट हुन सकेको छैन । आजको बैठकमा सिट बाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलले तयारी गरेको छ । सोही मापदण्डका अनुसार दलहरूबीच सिट बाँडफाँट हुने बताइएको छ ।

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट सिटौलासहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेका छन् भने नेकपा (माओवादी केन्द्र) को तर्फबाट देवप्रसाद गुरुङ र वर्षमान पुन सदस्य रहेका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल सदस्य रहेका छन् भने जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट रामसहाय यादव, रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !