१५ बैशाख २०८१, शनिबार

बजेटमा घोषणा गरिए अनुसार नै तलब वृद्धि हुने अर्थमन्त्री शर्माको आश्वासन


जनार्दन शर्मा कर्मचारीसंग

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा घोषणा गरिए अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने बताएका छन् । ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले बजेट भाषण अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने आश्वासन दिएका हुन् ।

असमान ढंगले तलब वृद्धि गरिंदा आफूहरु मर्कामा परेको भन्दै नासुहरुले आज सिंहदरबारभित्र पेन डाउन गरेका थिए । उनीहरुले भोलि विदा बस्ने घोषणा समेत गरेका छन् ।

बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरुका नेताहरुले आज अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएपछि अर्थमन्त्री शर्माले उनीहरुलाई सो आश्वासन दिएका हुन् ।

ती कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र ‘पे कमिसन’गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !