७ बैशाख २०८१, शुक्रबार

काँग्रेसले एकल बहुमत ल्याउने गरी गठबन्धन बैठकमा सिट बाँडफाँडको प्रस्ताव लैजाने


काँग्रेस शीर्ष नेताहरुको बैठक

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले एकल बहुमत ल्याउने गरी सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँडको प्रस्ताव लैजाने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काँग्रेसले एकल बहुमत ल्याउने गरी गठबन्धनको बैठकमा सिट बाँडफाँडको प्रस्ताव लैजाने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

उक्त प्रस्ताव स्थानीय तह निर्वाचनको परिणामलाई मुख्य आधार मानेर बनाउने निर्णय गरिएको हो । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा कांग्रेसको सिट संख्याका विषयमा पार्टीका अन्य शीर्ष नेताहरुसंग छलफल गरेका हुन् ।

कांग्रेसको बैठकमा बोल्ने अधिकांश नेताहरूले कांग्रेसले एकल सरकार बनाउन सक्ने सिट एक्लैले जित्नुपर्नेमा जोड दिएका छन् । यसरी काँग्रेसले एकल बहुमत पुर्‍याउने रणनीति अघि बढ्ने भएको हो ।

सभापति देउवाले पहिला पार्टीभित्र आन्तरिक छलफल गर्न बैठक बोलाएका थिए । पार्टीमा पहिला छलफल गरेपछि अरू बैठकमा प्रस्तुत हुने देउवाको तयारीअनुसार आज सो निर्णय गरिएको हो ।

कांग्रेसले आगामी निर्वाचनमा तालमेल गर्ने, तर चुनावपछि गठबन्धन दलबाहेक पनि सरकार बन्ने अवस्था सिर्जना गर्ने रणनीति लिएको हो । कांग्रेसले गठबन्धनमा ९९ सय सिट आफूले लिने र बाँकी गठबन्धनका अन्य दललाई दिने रणनीति तय गरेर समानुपातिकको मत जोड्दा कांग्रेस एकल वहुमतको नजिक पुग्ने काँग्रेसका शीर्ष नेताहरुले अपेक्षा गरेका हुन् ।

स्रोतका अनुसार गठबन्धनको मुख्य घटक कांग्रेसले आफ्नो एकल बहुमत पुग्ने गरी प्रस्ताव गर्ने तयारी गरेको हो । सोअनुसार ९९ सिटमा कांग्रेसले दावी गरेको छ भने अन्य दलले यसलाई मानेका छैनन । नेपाली कांग्रेस आफूले एक्लै ८० सिटमा आफू जित्ने आँकलन गरेकोमा समानुपतिक मतको सिट संख्या जोड्दा एकल बहुमत पुग्ने उसको दाबी गर्ने रणनीति तय गरेको हो ।

हाल प्रतिनिधिसभा २७५ सदस्यीय भएकोमध्ये प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट रहेका छन् । गठबन्धन गर्दा १६५ सिटको भागबण्डा हुने भएकोले समानुपातिक सिटसहित एकल सरकार बनाउन कांग्रेसले कम्तिमा पनि १३८ सिट जित्नुपर्ने हुन्छ ।

२०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा २३ सिटमा खुम्चिएको कांग्रेसले अहिले त्यही प्रकृतिको सम्भावित वाम गठबन्धन रोक्न पनि चुनावमै गठबन्धन गर्नुपर्ने बाध्यता भएकोले करैले गर्दा दबाबमा परेको हो । तर चुनावमा गठबन्धन गरेपनि चुनावपछि सरकार निर्माण प्रक्रियामा गठबन्धन दलको साथ नभए फेरि आफैँ प्रतिपक्षमा बस्नुपर्ने कुरामा नेताहरू सजग देखिएका हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । सत्ता गठबन्धनका दलहरुबीच आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भइसकेको छ ।

सत्ता गठबन्धनले गठन गरेको निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने भएको हो । उक्त बैठकमा आसन्न निर्वाचनमा सिट बाँडफाँडको गृहकार्य गर्न बैठक बस्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !