७ बैशाख २०८१, शुक्रबार

ओलीले खुलासा गरे आफू दुई पटक प्रधानमन्त्रीबाट हट्नुपरेको तीतो यथार्थ

उत्तरी नाका खोल्दा र नक्सा ल्याउँदा प्रधानमन्त्रीबाट हट्नुपरेको ओलीको तर्क


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उत्तरी नाका सञ्चालनमा ल्याउँदा र लिम्पियाधुरासहितको नक्सा ल्याएपछि आफू प्रधानमन्त्रीबाट हट्नुपरेको खुलासा गरेका छन् ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेर उत्तरी नाका खोलेपछि आफूलाई हटाइएको भन्दै दोस्रोपटक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि हट्नु परेकोमा यथार्थ खुलाएका हुन् ।

ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएपछि उत्तरी चीनतर्फको नाका सञ्चालनमा ल्याउँदा प्रधानमन्त्री पदबाट हट्नुपरेको बताएका हुन् । उनले आजको युगमा देश जोगाउन लड्न नपर्ने भन्दै देशभक्तिको पक्षमा अडिए पुग्ने बताए ।

यस्तै उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू-भाग समेटेर नेपालको नक्सा ल्याएपछि पुन: प्रधानमन्त्रीबाट हट्नुपरेको पनु खुलासा गरेका हुन् । उनले राष्ट्रिय हितको कुरामा अन्यायपूर्ण दाबी गर्न नसकिने र न्यायोचितमात्र दाबी गर्नुपर्ने धारणा राखे ।

ओलीले आफुहरु कसैका विरुद्ध नरहेको भन्दै आफ्नो राष्ट्रियताका पक्षमा रहेको बताए । उनले देशलाई आमासँग तुलना गरिएको भन्दै राष्ट्रहितलाई तिलाञ्जली दिएर कुनै पनि बेठीक कार्य गर्न नसकिने बताए । राष्ट्रिय हितको निर्णय गर्दा आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको तीतो यथार्थ स्मरण गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !