७ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त


जनार्दन शर्मा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मालाई पुन: अर्थमन्त्रीमा नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नु भएको छ ।’

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा जेठ १४ गते राती अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गर्न दिएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । उनीमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनेको थियो ।

छानबिन समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थ मन्त्रीको रुपमा जिम्मेवारी दिएका हुन् ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए । राष्ट्रपति कार्यालय स्रोतका अनुसार शर्माको शपथ ग्रहण आजै आइतबार ५ बजेपछि हुने बताइएको छ ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

 

जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !